Sun - Fri 9:30 AM - 4:30 PM, Saturday closed.

अमेरिकामा Working Visaमा को जान पाउने ? कसरी जाने ?

March 03, 2020 2100

अमेरिकाको कामदार भिसा एचवान बी कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्ने अमेरिकाका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले khasokhas.com लाई जानकारी दिनुभएको छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ ।

यो भिसाका लागि नेपाल वा अमेरिकाबाहिरको अन्य मुलुकबाट अमेरिका आउन चाहने व्यक्ति आफैले आवेदन दिन मिल्दैन । अमेरिकन कम्पनीले जागिरको अफर गरिसकेपछि उक्त व्यक्तिलाई अमेरिकामा ल्याउनका लागि कामदार भिसा एचवान बीका लागि आवेदन दिनसक्छ । जसका लागि मार्च १ बाट अनलाइन रजिस्ट्रेशन खुलेको छ भने मार्च २० सम्म अनलाइनबाट आवेदन दिनसकिन्छ ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै मार्च २० भित्र उसका लागि आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  गतबर्षदेखिको नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

गतबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।  यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

Courtesy: Khasokhas.com